काठमाडौं – महाशिवरात्रिका अवसरमा काठमाडौंको पवित्र पाशुपत क्षेत्र फुलैफूलले सजिएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै गएको छ ।
दर्शनार्थीहरुलाई पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लाइनको व्यवस्था गरिएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।
महाशिवरात्रिका भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेना र अन्य विभिन्न संस्थाहरुले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । हंसमण्डपमा विभिन्न संघसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् ।
आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, कुमभेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

