काठमाडौं – सत्ता साझेदार दलहरूको नियमित बैठकले सरकारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ नेताहरूको बैठकले सरकारलाई थप प्रभावकारी बनाउन संसद र गठबन्धन सञ्चालनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको हो ।

सत्तापक्षबीच आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा खुलस्त छलफल भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने । ‘बाहिर सार्वजनिक भएका कतिपय विषयमा अलमल परेको भन्दै कतिपय साथीहरुले आफ्ना भनाई राख्नुभयो, तर अध्यादेशका विषयमा, अनि सदन चलाउने विषयमा एकजुट भएर जाने निर्णय नै आज भयो,’ उनले भने ।

यो बैठकले सत्ता गठबन्धनलाई कमजोर हुन नदिनेबारे पनि छलफल गरेको छ । नेताहरूका अनुसार सरकारले राम्रै काम गरिररहेकाले गठबन्धनभित्र कुनै समस्या आउन दिन नहुने निर्णय भएको छ ।

‘प्रधानमन्त्रीले सरकारले गरिरहेको कामको ब्रिफिङ गर्नुभयो, उहाँले राम्रै गरिरहेको भन्नुभयो,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘राम्रै काम गरिरहेको सरकारलाई टिकाउन गठबन्धनभित्र देखिने समस्या हल गर्नुपर्ने पनि कुरा भयो ।’

ती नेताका अनुसार गठबन्धनभित्र देखिने समस्या हल गर्ने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिनुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् । ‘गठबन्धन भएकाले समस्या भइहाल्छ । तर सरकार र गठबन्धनभित्र समस्या देखियो भने त्यो कुरा प्रधानमन्त्री र भावी प्रधानमन्त्री ९देउवा० लाई भन्ने निष्कर्षमा हामी पुग्यौं’, एक नेता भन्छन् ।