धनगढी – नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । उनले यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरे ।
शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी विमानस्थलमा ओर्लिएका रावलले पत्रकारहरुको भेटमा सो धारणा सार्वजनिक गरेका हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका रावललाई पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’
रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए ।
रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाएका थिए । त्यही क्रममा एमाले नेता रावल विशिष्ट कक्षबाट सुटुक्क बाहिरिएका थिए । रावल भने पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरे ।









