काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर काम गर्ने मौका पाएको जवाफ दिएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे ।
दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।
‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’
प्रधानमन्त्री देउवाले परमादेशकै कारण भेट गर्ने मौका पाएको टिप्पणी गरे । ‘त्यसकारण परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु ।’












