काठमाडौं – काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेका आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस शुरू भएको छ ।
लामिछानेको तर्फबाट हिजो बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।
लामिछानेका तर्फबाट १० जना कानून व्यवसायीले बहस गर्ने अदालत प्रशासनले जानकारी दिएको छ । शुरूमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस शुरू गर्नेछन् ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।









