मकवानपुर – चुरियामाई सुरुङमार्ग आजदेखि खुल्ने भएको छ । जीर्णोद्धारको लामो पर्खाइपछि बाग्मती प्रदेश सरकारले आज हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि सुरुङमार्ग नागरिकले अवलोकन गर्न पाउने गरी खुल्ने भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग बाग्मती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिकालाई हस्तारन्तरण गर्दै छ ।
प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माण गरेपछि सुरुङ सञ्चालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्यौलता थियो ।

समयमै कार्यविधि नबन्दा र सञ्चालनको लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जिर्णोद्धार भएको आठ महिनापछि मात्रै खुल्न लागेको हो ।
अहिले हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधरणका लागि खुला गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले जानकारी दिनुभयो ।

२०७९ वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम शुरू भएको १९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माणको काम सम्पन्न हुँदासम्म झण्डै दुई सय २५ मिटर पुगेको छ ।

ऐतिहासिक महत्त्वको सुरुङमार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बाग्मती प्रदेश सरकारले जीर्णोद्धारको काम थालेको थियो ।
काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको यो सुरुङमार्ग दक्षिण एशियाकै पहिलो सुरुङमार्ग मानिन्छ । रासस