काठमाडौं – बाराको बरियारपुरमा चलिरहेको प्रसिद्ध गढीमाई मेलामा आज पनि दर्शनार्थीको उस्तै घुइँचो छ । गढीमाईमा हिजोदेखि शुरू भएको विशेष पूजा भोलिसम्म चल्नेछ । हिजोदेखि दर्शनार्थीको घुइँचो थप बढेको र भोलिसम्म नै घुइँचो हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेला लागेको ठाउँ बरियारपुरदेखि १५, २० किलोमिटर टाढादेखि नै गाडीको चाप बढेको छ । दर्शनार्थीको घुइँचो र व्यापारले मेलाको रौनक बढाएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।
मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो ।
मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गर्ने काम भइरहेको खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ । मेला आउँदो ३० गते आइतवारसम्म चल्नेछ ।









