काठमाडौं – जाडोयाम सुरु भएसँगै रुघाखोकीको समस्याले धेरैलाई सताउँछ । रुघाखोकी निको पार्न सबैजसो मानिसले औषधिको सहारा लिन्छन् । तर सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु उचित नहुने चिकित्सकहरू बताउँछन् ।
रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । रुघाखोकी निको पार्न केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जुन हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।
बेसार पानी पिउने
बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कुर्कुमिन रुघाको समस्यासँग लड्न प्रभावकारी तत्त्व मानिन्छ । किनकि यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्नुपर्छ ।
प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने
रुघाखोकीले सताएको बेला प्रशस्त मात्रामा मनतातो पानी, झोलिलो पदार्थ तथा प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुराले रोगप्रतिरोधात्मक क्षमता बढाएर रुघाखोकीलाई कम गर्न सहयोग गर्छ ।
मह र मनतातो पानी
रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुनसक्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ । महलाई मनतातो पानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।
अदुवा
अदुवाले सुक्खा खोकी वा दमको खोकीलाई कम गर्न सक्छ, किनकि यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । यसले दुखाइबाट पनि राहत प्रदान गर्न सक्छ । अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणले घाँटीलाई शान्त पार्न सक्छ, जसले गर्दा खोकी कम हुन्छ । तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ ।
तुलसीको पात
चिया वा तातोपानीमा चार, पाँचवटा तुलसीको पात हालेर दुई मिनेटसम्म तताएर दिनमा दुई–तीन पटक पिउँदा खोकीबाट छुट्कारा पाउन सकिन्छ । यसमा चिनी नमिसाई मह मिसाएर वा नुन मिलाएर खाँदा प्रभावकारी हुन्छ । साथै चिया जस्तै खान नसकेमा तुलसीको पात चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ ।
ल्वाङ र दालचिनी
ल्वाङ र दालचिनीलाई चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखोकी निको हुन्छ । यसमा स्वादका लागि अदुवा बेसार मिलाएर पनि खान सकिन्छ । यसले खोकी र घाँटी खसखस भएको निको हुन्छ । यसमा ल्वाङमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री र एन्टिसेप्टिक गुण भएको हुन्छ, जसले गर्दा रुघाखोकी निको हुन्छ ।
मरिच
मरिचको धुलोलाई पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघा निको हुन्छ । कालो मरिचलाई घरेलु औषधिको रूपमा लिइने गरिन्छ । यसमा पिपरीन, आइरन, पोटासियम, म्याग्नेसियम, जिङ्क, क्रोमियम, भिटामिन सी, भिटामिन ए, भिटामिन डी, ऐसे एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्त्व पनि पाइन्छ ।
बाफ लिने
रुघा लागेर नाक टालिएको छ भने बाफ लिंदा फाइदाजनक हुन्छ । तर सामान्य रुघा लागेको छ नाक मात्र बगेको छ भने बाफ नलिंदा पनि हुन्छ । कफ जमेको र नाक टालिएको अवस्थामा मात्र बाफ लिनु राम्रो हुन्छ ।
यी माथिका घरेलु उपाय अपनाउँदा पनि लामो समयसम्म रुघाखोकी लागिरहेमा या उच्च ज्वरो आएमा तथा ज्वरो निको नभएमा चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।