बुटवल – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही लाने तयारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा ल्याइनेछ । ‘आज सोमबार नै ल्याउने तयारी थियो तर प्लेनको फ्लाइट शेड्युल चेन्ज भएको रहेछ, मिल्यो भने आज साँझ नभए भोलि बिहान (मंगलबार) ल्याउने निश्चित भएको छ,’ एसपी राठौरले भने ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।








