काठमाडौं – भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।

यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तुरुन्त आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको अपडेट नियमित रूपमा दिन भनेका छन्। सबै सम्बन्धित एजेन्सीहरू उच्च सतर्कतामा छन् र समन्वयका साथ उद्धार कार्य चलिरहेको छ ।

विमान दुर्घटनापछि अहमदाबाद विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको छ।