काठमाडौं – भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ ।

पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।

यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।

दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।

उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।

त्यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।

‘हामीले यसबारे भर्खरै मात्रै थाहा पाएका हौं, जब हामी ओभल अफिसमा प्रवेश गर्दै थियौं,’ ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘केवल यति चाहन्छु, यो लाजमर्दो छ । यस्तो (लडाइँ) चाँडै सकियोस् ।’
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।

नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘महासचिवले दुवै देशलाई बढीभन्दा बढी संयम अपनाउन आह्वान गर्नुभएको छ । संसारले अर्को भारत–पाकिस्तान सैन्य टकरावको जोखिम उठाउन सक्दैन ।’