काठमाडौं – पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल आक्रमण गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।

यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।

भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’

भारतीय अनलाइन द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरु आएका छन् ।

भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।

भारतीय सेनाले एक्स अकाउन्टमा लेखेको छ– पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ । भारतीय सेनाले यसको उचित तरिकाले जवाफ दिइरहेको छ ।’

भारतले नौ स्थानमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन् ।

यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।

सामाजिक सन्जाल एक्स अकाउन्टमा उनले लेखेका छन्, ‘भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ । पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ ।’ उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान र पाकिस्तानी सेनालाई थाहा छ कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ । हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं ।’