काठमाडौं – काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।

उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन सकेको छैन । प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । जनप्रशासन क्याम्पसबाहिरको सडकमा प्रदर्शनको लागि तोकेपनि प्रदर्शनकारीहरु चक्रपथमा आएका थिए ।

प्रहरी घेरा तोड्न खोज्दा झडप

यसैबिच बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।