दमौली (तनहुँ) – डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो ।

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए ।

६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस