काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोपितले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरेका छन् ।

कुन प्रधानमन्त्रीको को स्वकिय सचिव भन्ने नखुलाएरै उनले भने, ‘आइजीपी, पूर्वसचिव, पूर्व मेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरन्त छानबिन होस्।’

यो प्रकरणमाथि अनुसन्धा अगाडि बढ्दा उत्साहित भएको उनले बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फ्लिम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरको आधारमा उत्साहित भइयो’ उनले थपे, ‘तर यो फ्लिमको दृष्य यति काँटछाँट गरिँदैछ कि फ्लिम त साह्रै बकवास हुन थालेको छ ।’

काँटछाँट गरिएको फ्लिम हेरेर रास्वपा नबस्ने भन्दै उनले नाम जोडिएको भनिएका आएजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिव समैमाथि छानबिन गर्न माग गरेका हुन् ।