काठमाडौं – काठमाडौंको गर्मिले काठमाडौं बासीको सातो खाइरहेको छ । विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।

काठमाडौंमा सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । यसैगरी जुन महिनाको सबैभन्दा ताता दिनहरुको ट्रेण्ड पनि ०.०५ डिग्री सेल्सियसले बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जेठ २६, २७ र २८ गते अर्थात् जुन ८, ९ र १० तारिखमा अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

गत वर्ष जुन ९ तारिखमा काठमाडौंको अधिकतम तापक्रम ३२.२ र १० तारिखमा ३३.३ थियो । काठमाडौंको गर्मीले जुन महिनाको अधिकतम तापक्रमको थ्रेसहोल्ड (२९.४ डिग्री सेल्सियस) त नाघेको छ नै तातो दिन (हट–डे)को चेतावनीको स्तर नजिक पनि पुगेको देखिन्छ ।

काठमाडौंमा अधिकतम तापक्रम लगातार तीन दिनसम्म ३१.३ डिग्री सेल्सियस नाघ्यो भने सामान्य, ३२ नाघ्यो भने मध्यम र ३४.४ नाघ्यो भने विषम गर्मीको अवस्था मानिन्छ ।

काठमाडौं पहाडी जिल्ला हो । तराई मधेशका जिल्लाका तुलनामा पहाडी जिल्ला बढी शीतल हुन्छन् । तर काठमाडौंमा केही वर्षयता निरन्तर अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको छ । त्यसैले काठमाडौंमै दिउँसोको चर्को घाममा घर बाहिर निस्किन त मुस्किल हुन्छ नै राति पनि गर्मी भएर आनन्दले सुत्न सकिँदैन ।