काठमाडौं आज पहाडका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका थोरै ठाउँहरु तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका ठाउँहरुमा अत्यधिक गर्मीको सम्भावना छ । अस्ति शनिबार र हिजो आइतबार पानी नपरेपछि देशैभर गर्मी बढेको छ । हिजो काठमाण्डौ उपत्यकाको तापक्रम ३३ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । धनगढीको तापक्रम ४२ दशमलव ९ डिग्री सेल्सियस र नेपालगन्जको तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।

दिपायल र वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ । विभागले तराईमा विभिन्न ठाउँमा आज पनि तातो हावासँगै तातो हावाको लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरुले बताएका छन् ।

तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ । केही दिनमै मनसुन भित्रने भएकाले गर्मी घट्ने मौसमविदको भनाइ छ ।