बझाङ – चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैको नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भू–भागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको दुई नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको बताउनुभयो ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आउँदो असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालन हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान अहिलेसम्म पाँच जनाले अनुमतिपत्र लिएका उहाँले जानकारी दिनुभयो ।

नेपाल र चीन सरकारबीच चीनसँगका १४ वटा नाका क्रमशः खोल्न सहमति भएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनः सञ्चालनको घोषणा गर्नुभएको थियो ।रासस