काठमाडौं – काठमाडौंका चार सय ७३ वटा निजी विद्यालयले १८ हजार चार सय २२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाडौं महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनुपर्ने विद्यार्थी सङ्ख्यासहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागू गर्न महानगरले पहल शुरु गरेको हो ।

निजी विद्यालयले विद्यार्थीमाथि चर्को शुल्क मात्र सङ्कलन गर्ने तर छात्रवृत्ति भने नदिने गरेको महानगरको अनुगमनले देखाएको छ । केही विद्यालयले भने प्रक्रिया विना नै आफन्त र आफूखुसी छात्रवृत्ति उपलब्ध गराउने गरेको समेत पाइएको छ । गरिब जेहेन्दार र अध्ययनशिल विद्यार्थीका लागि यो छात्रवृत्ति उपलब्ध गराउनु पर्ने महानगरले जनाएको छ । छात्रवृत्ति विवरण पेश हुन बाँकी रहेका विद्यालयले तीन दिन भित्र कार्यालयमा विवरण उपलब्ध गराउन पनि महानगरले भनेको छ ।