जनकपुरधाम – मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन ।

सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस नै दिन नसक्दा प्रदेश सभा बैठक बस्न नसकेको हो । अब प्रदेश सभामा समितिहरुमै छलफलमा रहेको विधेयकहरुमाथि विमर्श गरेर प्रदेश सभा बैठक आह्वान गर्छौं,’ सभामुख मण्डलले भने ।

१५ पुस २०७९ मा प्रदेश सभाका दोस्रो कार्यकालका लागि चुनिएका प्रदेश सांसदले शपथ लिएयता पहिले अधिवेशनको ३६ वटा र दोस्रो अधिवेशनको ११ गरी मात्र ४७ वटा बैठक बसेको छ । यस अवधिमा ९ वटा विधेयक प्रदेश सभामा पेस भयो ।

जसमध्ये मधेश प्रदेशको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८०, र मधेश प्रदेश विनियोजन विधेयक २०८० मात्र पारित हुन सकेको छ । जबकि आर्थिक र विनियोजन विधेयकलाई गणना गरिने चलन छैन ।

प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बाल अधिकार ऐन २०७९ को पहिलो संशोधन, मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास विधेयक २०८० र स्थानीय सेवाको गठन, संचालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संसदीय समितिहरुमा छलफलको क्रममा रहेकमो सभामुख मण्डल बताउँछन् ।

कात्तिक १४ मा मात्रै मधेश प्रदेश सभाको सातवटै संसदीय समितिको सभापति चयनले पूर्णता पाएको थियो ।