काठमाडौं – अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले पृथ्वीभन्दा कैयन् प्रकाशवर्ष टाढा एउटा विशाल बाह्य ग्रह फेला पारेका छन्, जसमा एउटा महासागर समेत रहेको घोषणा गरिएको छ ।

नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ संकेत गर्ने एक रसायन समेत फेला परेको छ ।

नासाको जेम्स वेब टेलिस्कोपले उक्त ग्रहको खोज गरेको हो । केटू-१८बी नाम दिइएको उक्त एक्जोप्लानेट अर्थात् बाह्य ग्रह पृथ्वीभन्दा ८.६ गुणा ठूलो छ । उक्त ग्रहको वातावरणको जाँचका क्रममा मिथेन तथा कार्बन डाइअक्साइड समेतका कार्वनको प्रभावयुक्त अणुहरुको उपस्थिति रहेको पत्ता लागेको छ ।

जेम्स वेबको खोज हालैको अध्ययनसँग सम्बन्धित छ, जस अनुसार केटू-१८बी एउटा हाइसिन एक्जोप्लानेट हुनसक्छ जसमा हाइड्रोजन समृद्ध वातावरणका साथै महासागरले ढाकिएको अवस्थामा रहेको सम्भावना छ ।

नासाले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार बसोबास योग्य क्षेत्र भएको उक्त बाह्य ग्रहको वायुमण्डलीय गुणहरुका बारेमा पहिलो जानकारी चाहीँ नासाको हबल स्पेस टेलिस्कोपबाट प्राप्त भएको थियो ।

उक्त नयाँ खोजले आगामी दिनको अनुसन्धानका लागि वैज्ञानिकहरुलाई प्रेरित गरेको छ । यो खोजले प्रणालीका बारेमा आफ्नो बुझाइलाई नै परिर्वन गरिदिएको नासाको भनाइ छ ।

के हो केटू-१८ बी ?

बसोबासयोग्य चिसो क्षेत्र समेत रहेको यो बाह्य ग्रहले केटू-१८ नामक ताराको परिक्रमा गरिरहेको छ । यो पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको छ ।

यस्ता बाह्य ग्रहहरु जसको आकार पृथ्वी र वरुणको बीचमा छ, उनीहरु सौर्यमण्डलका कुनैपनि पिण्डभन्दा निकै फरक हुन्छन् । यसको वायुमण्डलको प्रकृति खगोलविदहरुका बीचमा सक्रिय बहसको विषय बनेको छ । यो खोजले बाह्य ग्रहमा जीवनको खोजी गर्ने दिशामा नयाँ आशाको सिर्जना गरेको दाबी नासाको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका खगोलशास्त्री तथा उल्लेखित शोधका प्रमुख लेखक निक्कू मधुसुदनका अनुसार परम्परागत रुपमा बाह्य ग्रहहरुमा जीवनको खोजी मूख्य रुपमा साना चट्टानी ग्रहहरुमा केन्द्रित रहँदै आएको छ ।

तर ठूला हाइसिन ग्रहहरु वायुमण्डलीय धारणाका लागि निकै अनुकूल हुन्छन् । ती ग्रहमा मिथेन तथा कार्वन डाइअक्साइड हुनुर एमोनियाको कमीले गर्दा त्यहाँ हाइड्रोजनयुक्त वातावरणको तल एउटा महासागर भएको परिकल्पनालाई समर्थन गर्दछ । एजेन्सी