काठमाडौं – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।