काठमाडौं – इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको छ ।

यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ ।

नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान ११ः२० बजे सो भाले चरा देखेका थिए । उनीसँगै रहेका दुई जना मलेसियन नागरिक र नेपाली चराविद अनिस तिम्सिनाले पनि चरा अवलोकन गरेका थिए ।

उनीहरुले करिब २० मिटरको दुरीबाट सो चराको फोटो र भिडियो खिचेर २८ चैतमा थप पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौंमा पठाएका थिए ।

प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीले बताए ।