काठमाडौं – नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्र आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक निर्माण आयोजनाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी पूर्णरूपमा बन्द हुनेछ ।
सडक मर्मतका लागी ट्राफिक प्रहरीको सुझाव अनुसार यात्रु चाप कम हुने समयमा सडक बन्द गरिने आयोजना प्रमुख शशांक मिश्रले जनाकारी दिनुभयो । बन्द अवधिमा एम्बुलेन्स, दमकलजस्ता आकस्मिक गाडी भने सञ्चालनमा रोक लगाइने छैन ।
सर्वसाधारणका लागि भने वैकल्पिक बाटो नहुँदा मोटरसाइकलबाहेक अन्य गाडी चल्न नसक्ने अवस्था छ । अहिलेसम्म सडकको ६१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी १ लाख ६८ हजार घनमिटर ब्याक कटिङको काम दाउन्नेमा भइरहेको छ ।
निर्माण कार्यको समय अवधि २०८२ साल साउन ५ गतेसम्म छ । २०८२ वैशाख १ गतेदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी बन्द गरिने आयोजनाले जनाएको छ ।
अहिले पश्चिमबाट पूर्वतर्फ आउने गाडीहरूलाई बर्दघाटमा र पूर्वबाट पश्चिम जाने गाडीहरूलाई दुम्किबासमा रोक्ने व्यवस्था मिलाइएको आयोजना प्रमुख मिश्रले बताउनुभयो ।