तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा निर्माण शुरू भएको पुल ११ वर्षसम्म पनि बन्न सकेको छैन ।

पुल नबन्दा स्थानीयवासीले सास्ती पाएका छन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल शुरू गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति नै गठन गरिएको छ ।

बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको हो ।

पुल सम्पन्न नहुँदा देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दालाई दैनिक हिँडडुल गर्न सास्ती भएको संयोजक थापाले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले दुःख बुझेर तत्काल काम शुरू गर्नुपर्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यस वर्ष दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिनुभयो । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० सालको असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि पनि अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्र काम सकिएको छ ।

पुलको थपिएको निर्माणको अवधि आउँदो चैतसम्म रहेको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो ।

अहिलेसम्म त्रिशूलीको वारिपारिका पिल्लर मात्र ठडिएका छन् । पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको मोटरेबल पुलको निर्माण सम्पन्न भएपछि पोखरा र दमौली भएर नारायणगढ आउन जान अहिले सञ्चालनमा रहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । रासस