हेटौंडा – मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
कन्टेनर वीरगञ्जबाट काठमाडौं जाँदै थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।