काठमाडौं – युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।
अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस ४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको बीबीसीले जनाएको छ ।
केही दिन अघि मात्र अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीको मिसाइल प्रयोग गर्न हरियो सङ्केत दिएको थियो । एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यस युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।
यसैबीच युक्रेनी वायु सेनाले अस्ति सोमवार राति रुसले १ सय ८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ । त्यसयता युक्रेन र रुसबीच तनाव उत्कर्षमा पुगेको खबरमा उल्लेख छ । एजेन्सी