काठमाडौं – पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद प्रवेश गर्ने नाकामा पुगेको छ ।
सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबादको ढोकैमा पुगेका समाचार संस्था एएफपीले जनाएको छ । पीटीआईका कार्यकर्ताले सबै खालका अवरोध तोड्दै अघि बढिरहेका छन् ।
हिजो भएको झडपमा एक जना प्रहरीको ज्यान गएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास हान्दा सयौं आन्दोलनकारी घाइते भएका छन् । देशका अरू ठूला शहरमा पनि विशाल प्रदर्शन भइरहेका छन् ।
गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका सरकारले नै बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ । पाकिस्तानको मानव अधिकार आयोगले राजमार्ग बन्द गरेर राजधानी आउजाउ गर्ने पहुँच रोक्नुले आमनागरिकलाई सरकारले नै दण्डित गरिरहेको उल्लेख गरेको छ ।
सडकमा हतियारसहितका २० हजार जनाभन्दा धेरै प्रहरी, ब्यारिगेड र ट्रक तेर्स्याएर सरकारले ठूलै युद्धको झल्को दिएको डन अखबारको सम्पादकीयमा उल्लेख छ ।
गएको हप्ता इस्लामाबाद शहर प्रशासनले सार्वजनिक जमघटमा दुई महिनाको प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । स्कूल र कलेज पनि बन्द छन् । अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने आन्दोलनकारीले बताएका छन् ।
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ । एजेन्सी